धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

बिसु मनाउन भारतबाट फकिंदै सुदूरपश्चिमेली

बिसु मनाउन भारतबाट फकिंदै सुदूरपश्चिमेली

धनगढी । विभिन्न कामले भारत गएका सुदूरपश्चिमेली नागरिक चैते दशै र बिसु पर्व मनाउनका लागि धमाधम घर फर्कन थालेका छन् । सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट कामको सिलसिलामा भारत गएका उनीहरु बिसु पर्व (नयाँ बर्ष ) नजिकिदै गर्दा घर फर्किरहेका हुन् ।
यतीबेला सुदुरपश्चिमका सिमानाका भएर बिसु मनाउनका लागि स्वदेश भित्रीनेहरुको सिमानाकामा भिड बढ्न थालेको छ । भारत उत्तराखण्डको कालापहाडतिर काम गर्ने अछाम ढकारीका गोरे बुढा परिवारसहित बिहीबार घर फर्किएका छन् । उनी कञ्चनपुरको गड्डाचौकी नाका भएर विशु पर्व (नयाँ वर्ष)का लागि घर आएका हुन् । श्रीमती र स–साना छोराछोरीसहित ४ महिनाअघि कामको खोजीमा कालापहाड पुगेका उनी विशुसँगै खेतीपातीको कामका लागि आएका हुन् । 
कोरोना संक्रमणअघिसम्म बुढाको रोजगारीको यात्रा खेतीपातीको चक्रजस्तै थियो । असारमा धान रोपाइँ सकेर काम खोज्दै भारत पस्ने र असोजमा दसैंतिहार मनाउन घर फर्किने गर्छन् । फेरि हिउँदमा गहुँ छरेर काममा जाने र नयाँ वर्षका लागि घर फर्किने क्रम हुन्छ । कोरोना संक्रमण सुरु भएपछि उनको यो खेतीपाती र रोजगारीको समय चक्र रोकियो । डेढ वर्षसम्म घरमै बसे । संक्रमण कम भएपछि पुसमा गएका उनले पुरानै लय समात्न खोजेका छन् । ‘कोरोनाले बीचमा सबै ठप्प भयो, कहीं आउजाउ नै भएन,’ बुढाले भने, ‘अब अलिअलि सजिलो भयो, दुई÷चार महिना भए पनि ज्याला मजदुरी पाइयो ।
५५ वर्षीय बुढा १५÷१६ वर्षकै उमेरदेखि काम खोज्दै कालापहाड जान थालेका हुन् । कालापहाडमा घर तथा सडक निर्माणमा ज्यालादारीको काम पाइन्छ । बुढा मिस्त्रीको काम गर्छन् । दैनिक ७÷८ सय ज्याला पाइन्छ । यस्तै अछाम ढकारीकै सुकबहादुर बुढा पनि कालापहाडबाटै विशुका लागि घर फर्किएका छन् । उनी पनि रोजगारीका लागि घरबाट पुसमै हिडेका थिए । ‘दुई÷चार महिना काम गरेर अलि अलि घर खर्च जुटाएर फर्कियौं,’ उनले भने, ‘विशु पनि आयो, घरमा खेतीपातीको काम गर्ने कोही छैन ।’ नयाँ वर्ष नजिकिएसँगै कामको खोजीमा भारत पसेकाहरू घर फर्किन थालेका छन् । कोरोना संक्रमणका कारण दुई वर्षदेखि कामको खोजीमा जाने र घर फर्किने क्रम प्रभावित भएको थियो । संक्रमण बढ्दा घर फर्किने र संक्रमण घट्दा काममा जाने क्रम चलिरहेको थियो ।
‘कोरोनाका कारण धेरैले काममा फर्किन पाएका छैनन्,’ बुढाले भने, ‘फेरि पनि संक्रमणको डर छँदै छ ।’ बिहीबार दिउँसो ढकारीका ५०÷६० जनाको समूह महेन्द्रनगर बसपार्कमा अछाम जाने बसको पर्खाइमा थिए । बालबालिकादेखि महिलाहरूसमेत यो भीडमा थिए । सबैले झिटीगुन्टासमेत बोकेका थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशु पर्व धुमधामका साथ मनाइन्छ । यतिबेला रोजगारीका लागि बाहिर गएकाहरू पनि घर फर्किन्छन् । छोरी बहिनीहरू पनि माइत बोलाएर मीठा खानेकुरा खुवाउने चलन छ । केही दिनयता गड्डाचौकी नाकामा विशुका लागि घर फर्किनेको संख्या बढेको छ । नाकासँगै महेन्द्रनगर बसपार्कमा पनि भीडभाड बढेको छ । ‘वर्ष दिनको चाड हो विशु, घर परिवारसँगै मनाउन पाए रमाइलो हुन्छ,’ बैतडी सुर्नयाका जयसिंह धामीले भने, ‘कोरोनाले पोहोर परार विशु मनाउनै पाइएन ।’ पहिलो लहरको कोरोना संक्रमणका बेला झन्डै एक महिना सीमा क्षेत्रमै क्वारेन्टिनमा बसेपछि घर पुगेका उनी संक्रमण कम भएपछि काममा फर्केका थिए ।