धनगढी पोष्ट
बुधबार, ३० चैत २०७८ मा प्रकाशित
धनगढी । बझाङको छबिस पाथिभेर गाउँपालिकामा यतिवेला मेला पर्व मनाउने चटारो छ । प्रशिद्ध कांक्रेऔशी मेला, चैते दशै, बिसु पर्र्व र सुदूरपश्चिमकै प्रशिद्ध मेला चैतली संसंगै पर्दा छबिस पाथिभेरा मेला र पर्व मय बनेको छ । एकै पटठक धेरै मेला पर्व पर्दा वातावरण उल्लास मय छ ।
काम विशेषले बाहिर रहेका पालिकाका नागरिक मेला पर्वकै लागि भएपनि जन्मथलो पुगेका छन् । अघि पछि बुढापाका मात्रै हुने गाउँमा युवा जमात पुगेपछि सुनमा सुगन्ध थपिए जस्तै भएको छ । छोटो समयमा धेरै मेला पर्व परेका कारण हरेक दिन जसो मानिसहरु एक आपसनमा जम्मा भइरहन्छन् ।
यसरी मानिसहरु एकठाउँमा जम्मा हुँदा विगतका बर्षमा (भला भली) दुःख सुख बाड्ने, आफन्तको हालखबर बुझ्ने र स्थानीय स्तरमा बनेका खानाका परिकार बाँडिचुच्डी खाएर रमाउने गर्दथ्य । तर यस बर्ष भने परिस्थिती केही फेरिएको छ । एक महिना पछि हुने स्थानीय तहको निर्वाचनको माहोलले मेला पर्वमा समेत राम्रो ठाउँ पाएको छ । दुई मान्छे जम्मा हुने वित्तिकै चुनावकै बारेमा कुरा हुन थाल्छ ।
चुनावको अधिकांस विषय चुनावि तालमेलकै वरिपरि रहेको पाइन्छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शत्तारुढ दलले गठबन्धन गर्ने प्रक्रिया अघि बढाएका वेला छबिस पाथिभेरा गाउँपालिकाका मतदाता भने गठबन्धनको विपक्षमा उभिएका छन् । गठबन्धन गरेर जाँदा ५ बर्ष नपुग्दै राजनीतिक खिचातानी हुने उनिहरुको बुझाइ छ । गठबन्धन गर्दा राजनीतिक खिचातानी बढ्न्सक्ने भन्दै मतदाता दलहरुलाई एक्लाएक्लै निर्वाचनमा आउन आग्रह गरिरहेका छन् ।
‘माओबादी र एमालेले गठबन्धन गरी दुई तीहाई नजिकको मत ल्याएकै हुन्,’ छविसपाथिभेरा गाउँपालिका–५ का विष्णु सिंहले भने, ‘तर दुई दलको स्वार्थ नमिल्दा उनिहरु विचैमा फुटे । अहिले सारा देशले दुःख पाएको छ । फेरी गठबन्धन गर्दा त्यही अवस्था आउन सक्छ । त्यसैले दलहरुले एक्लै चुनाव लड्नु पर्दछ ।’ गठबन्धन गरेर चुनाव लड्न आउने उम्मेदवारलाई भोट नदिइने उनी बताउँछन् । उनले छबिसका मतदाता गठबन्धनको विपक्षमा रहेका बताए । ‘दलहरुले छुट्टाछुट्टै रुपमा उम्मेदवार चयन गर्दै चुनावमा पठाए सक्षम र योग्य उम्मेदवारलाई जिताउने मनसाय यहाँका मतदाताको देखिन्छ,’ उनले भने, ‘तर गठबन्धनलाई कसैले राम्रो मानेका छैनन, दलहरुले मतदाताको भावना बुझ्नु जरुरी छ ।’
छबिस पाथीभेरा गाउँपालिका–३ का चेतराज जोशीले पनि गठबन्धन गरेर भोटका लागि नआउन उम्मेदवारलाई आग्रह गरेका छन् । ‘गाउँका सवै गठबन्धनको विपक्षमा देखिन्छन्,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ता पनि गठबन्धन भए भोट हाल्दैनौं भन्न थालेका छन्, त्यसैले सवै दलले आ–आफ्ना उम्मेदवार पठाउनु राम्रो हुन्छ ।’
छबिस पाथिभेरामा तालमेल प्रति कांग्रेसका कार्यकर्ता समेत सन्तुष्ट छैनन् । कांग्रेसका धेरै कार्यकर्ता कांग्रेसमा मात्रै भोट हाल्ने भन्दै गठबन्धनको बिरोध गरिरहेका छन् । ‘हामीले रुखमा मात्रै भोट हाल्ने गरेका छौं,’ छविस–३ का एक जना कांग्रेस कार्यकर्ताले भने, ‘अरु पार्टीको चुनाव चिन्हमा हामी भोट हाल्न सक्दनौं, गठबन्धन भए इमान्दार कांग्रेसले मतदाननै गर्दैन ।’ उनले गठबन्धन भएपनि आफ्नो पालिकामा कांग्रेसकै उम्मेदवार हुनुपर्ने बताए । स्थानीय आनन्द भट्टले धेरै कांग्रेसका कार्यकर्ता गठबन्धनको कुराले रुष्ट बनेका बताउँछन् । ‘तालमेल भएर अरु पार्टीले टिकट पाए हामी भोटनै हाल्दैनौं भन्दै कांग्रेसका बुढा पाका कार्यकर्ता सल्लाह नै गर्न थालेका छन्,’ उनले भने, ‘युवा पिढिमा पनि त्यसको असर देखिनछ ।’
कांग्रेस छबिस पाथिभेरा कमिटिका उप–सभापति ओमजंग सिंहले कांग्रेसले सकभर एक्लै चुनाव लड्न चाहेको बताए । ‘कार्यकर्ताको माग एक्लै चुनाव लड्नुपर्छ भन्ने छ,’ उनले भने, ‘हामीले पनि त्यसै अनुसार काथिल्लो कमिटिमा रिपोर्टिङ गरेका छौं ।’