धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

आयुवेर्दिक चिकित्सालयमा निशुल्क स्वास्थ्यशिविर

आयुवेर्दिक चिकित्सालयमा निशुल्क स्वास्थ्यशिविर

धनगढी । धनगढी१३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले ४ दिने स्वास्थ्यशिविर सुरु गरेको छ ।

अस्पताल सञ्चालनका लागि सवै तयारी पुरा भइसकेको अवस्थामा आम नागरिकलाई सेवा सञ्चालनको जानकारी दिन निशुल्क स्वास्थ्यशिविर सञ्चालन गरिएको प्रदेश आयुवेर्दिक औषधालयका निमित्त निर्देशक खगेन्द्र बमले बताए ।

अस्पताल सञ्चालनका लागि सवै व्यवस्थापन भएपनि प्रचारप्रसार नहुँदा बिरामी नआएपछि शिविर सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले बताए । भवन तयार भईसकेको छ तर अस्पतालबारे आम नागरिकलाई जानकारी छैन, उनले भने, ‘शिविर सञ्चालन गरेपछि धेरै मानिसले जानकारी पाउने र बिस्तारै अस्पतालबाट सेवा लिन आउनेको संख्या बढ्ने अपेक्षाच गरिएको छ । उनले अस्पताल संचालनका लागि पहिलो चरणमा ओपीडि सेवा र ल्याव सेवा मात्रै सञ्चालन गरिएको बताए । 

विरामीको चाप बढेपछि थप सेवा विस्तार गर्ने तयारी रहेको उनले बताए । तत्कालका लागि ४ दिनको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, विष्टले भने, ‘दशैपछि यो कार्यक्रमलाई निरन्तरता दिइने छ ।

अस्पतालमा कर्मचारी संगठन तथा व्यवस्थापन सर्भे भई स्वीकृत भईसकेको बताए । अन्तरंग सहितको सेवा उपलब्ध गराउने गरि सञ्चालनमा ल्याइन लागेको चिकित्सालयमा पाँच जना चिकित्सक (डाक्टर), प्राकृतिक चिकित्सक र होमियोप्याथिक एक÷एक, कविराज चार, स्टाफ नर्स दुई, ल्याब, रेडियोग्राफर एक÷एक र अन्य गरि ३५ जना कर्मचारीको दरबन्दी रहने भएपनि तत्कालका लागि भने ६ जना डाक्टर खटिएका छन् ।

अस्पताल सञ्चालनका लागि सवै व्यवस्थापन भइसकेको छ, निमित्त निर्देशक बमले भने, ‘तर सेवा ग्राहीलाई त्यबारेमा जानकारी छैन, अस्पतालले सेवा सञ्चालन गरेको बारेमा जानकारी दिन शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ६ जना आयुवेदिक डाक्टरले स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य शिविरमा सेवा लग्न आएका नागरिकलाई निशुल्क ल्याव परिक्षण र औषधी वितरण गरिएको उनले बताए । उनका अनुसार शिविरको पहिलो दिन १ सय ६५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

स्वास्थ्य परिक्षण गराउनेमा १ सय ४० जना महिला र २५ जना पुरुष रहेका बमले बताए । ती मध्य ४६ जनाको ल्याव परिक्षण गरिएको छ ।

पहिलो दिन स्वास्थ्य परिक्षण गराएका मध्य अधिकांस विरामीमा बाथको समस्या देखिएको उनले बताए । त्यसैगरी ग्यास्ट्रिक, पायल्स, महिनावारी समस्या तल्लो पेट दुख्ने समस्या भएका विरामी पनि शिविरमा आएका निमित्त निर्देशक बमले बताए ।

संघिय सरकारले २०६८ सालमा सुदूरपश्चिम प्रदेशमा आयुर्वेद अस्पताल सञ्चालन ल्याउने उद्देश्य सहित क्षेत्रीय आयुर्वेद अस्पताल नामाकरण गरेको थियो । २०७७ सालको प्रदेश मन्त्रीपरिषदको बैठकले प्रादेशिक आयुर्वेद चिकित्सालय नामाकरण गरि सञ्चालनको तयारी गरिएको थियो ।

सो भवनको ठेक्का २०६८ सालमै अघि बढे पनि निर्माण कार्य २०७४ पुष देखि मात्रै अघि बढाइएको थियो । वनले स्वीकृति नदिँदा भवन निर्माणको कार्य छ वर्षसम्म अघि बढ्न सकेको थिएन । अस्पताल निर्माणका १८ करोड खर्च भएको जनाइएको छ ।

नियमित सेवा सञ्चालन हुन्छ : सचिव लामिछाने

 

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले आगमी दिनमा प्रादेशकि आयुर्वेदिक औषधालयबाट नियमित सेवा सुचारु हुने बताएका छन् ।

मंगलबार आयुर्वेदिक औषधालयमा सुरु भएको स्वास्थ्य शिविरमा उनले उपचारमा आउने विरामीलाई आफ्नो समुदायमा सेवाका बारेमा जानकारी दिन समेत आग्रह गरे ।

अस्पतालमा दक्ष जनशक्ति रहेका कारण जन अपेक्षा अनुसार सेवा सञ्चालन हुने अपेक्षा गरेका छौं, उनले भने, ‘त्यसका लागि सेवा ग्राही आउनु जरुरी छ । अस्पतालले दिर्घरोगिलाई बढी ध्यान दिने उनले बताए । अस्पतालले आयुवेर्दिक पद्धतिबाट सेवा सुचारु गरेपनि उपचार विधि परम्परागत मात्रै नहुने उनले बताए ।

सवैले आयुवेर्दिक औषधी पद्धति भन्ने वित्तिकै परम्परागत प्रणालीलाई बुझ्ने गरेका छौं, उनले भने, ‘तर प्रादेशिक अस्पतालले परम्परागत तरिकाले सेवा दिंदैन, आधुनिक प्रबिधिको प्रयोग गरी एलोपेथिक पद्धति जस्तै यसले सेवा दिनेछ ।