धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

एसओएसको सामाजिक परिक्षण सम्पन्न

एसओएसको सामाजिक परिक्षण सम्पन्न

धनगढी । धनगढी–१३ स्थित एसओएस बालग्रामको बार्षिक सामाजिक परिक्षण सम्पन्न भएको छ ।
सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक परिक्षक लेखनाथ ओझाले संस्थाले एक आर्थिक बर्ष (सन २०२१) मा गरिएका क्रियाकलापका बारेमा जानकारी गराएका थिए । प्रतिवेदन अनुसार हाल एसओएस बाल ग्राम धनगढीमा एक सय १२ जना बालबालिका रहेका छन् । 
जस्मा ५ वर्षमुनिका १२ जना, ६ देखि १० वर्ष उमेर समुहका ४२ जना, ११ देखि १५ वर्ष उमेर समुहका १५ जना र १६ देखि २० वर्ष उमेर समुहका २ जना बालबालिका रहेका छन् ।
यसैगरी एसओएस बालग्रामले कैलालीको घोडाघोडी नगरपालिका–८ मा परिवार सवलिकरण योजना अन्तरगत बालबालिका र उनिहरुको परिवारको आर्थिक अवस्था सवलिकरणका लागि काम गर्दै आएको छ । सो कार्यक्रम मार्फत एसओएसले एक सय ३० परिवार र सो परिवारमा रहेका २ सय ४ बालबालिकालाई सहयोग गर्दै आएको छ ।
सन २०२१ मा एसओएसले बालबालिका तथा अभिभावक अभिमुखिकरण कार्यक्रम, बालबालिकाका लागि आत्मरक्षा कार्यक्रम, जीविको पार्जन तथा शिप विकास तालिम, दैविक प्रकोप सम्बन्धी तालिम, बाल बिवाह न्यूनीकरण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरेको प्रतिवेदनमा उलेख छ ।
यसैगरी एसओएसले युवा ग्राम कार्यक्रम अन्तरगत २०२१ मा घर भाडामा लगेर १६ छात्र र १३ छात्रा गरी २९ जना बालबालिकालाई विभिन्न शिपमुलक कार्यक्रम शिकाई रहेको छ । युवा ग्राम कार्यक्रम अन्तरगत बालबालिकालाई विद्युत र मोबाईल मर्मत, होटल व्यवस्थापन तालिम तथा उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्दै आएको छ ।
एसओएस बालग्राम सञ्चालनका लागि बजेटको अभाव हुने गरेको प्रतिवेदनाम उल्लेख गरिएको छ । चन्दाको भरमा संस्था सञ्चालन हुनेगरेकोमा चन्दा दाता घट्दै गएका, प्राबिधिक शिक्षा महंगो हुँदा बालबालिकालाई प्राबिधिक शिक्षा पढाउन समस्या भएको, आफ्नै युवा ग्राम सञ्चालन हुन नसक्दा बालबालिकालाई महंगो घरमा भाडामा लगेर राख्नुपर्ने समस्या रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०२१ मा ५ करोड ४ लाख ३९ हजार ७८ रुपैंयां खर्च भएको सामाजिक परिक्षणमा उल्ले छ । 
शनिबार एक कार्यक्रमको आयोजना गर्दै सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । एसओएस बालग्रामको सभाहलमा आयोजित कार्यक्रममा सन २०२१ मा सञ्चाति गतिविधिबारे प्रकाश पारिएको हो । आमाबुवा गुमाएका र कमजोर आर्थिक अवस्था भएका बालिबालिकालाई एसओएसले संरक्षण गर्दै आएको छ ।
कार्यक्रममा सुझाव दिंदै कैलाली मोडेल बोर्डिङ स्कुलका प्राचार्य तपेन्द्र बहादुर सिंहले एसओएसमा रहेका बालबालिकालाई शिक्षा आर्जन गर्न शैक्षिक संस्थाहरुले पनि सहयोग गरेको भन्दै त्यो सहयोगको पनि कदर हुनु पर्ने बताए । उनले सुदूरपश्चिममा अझै धरै बालबालिका अभिभावक विहीन रहेका भन्दै उनिहरुलाई समेट्न सदूरपशिचमका अन्य क्षेत्रमा पनि एसओएस बालग्राम स्थापना हुनुपर्नेमा जोड दिए । त्यसैगरी आर्थिक पारदर्शिताका लागि आय श्रोत र खर्चको विवरण पनि समावेस गर्दा राम्रो हुने उनले बताए ।

प्रदेश सरकार सहकार्य गर्न तयार छ : सचिव लामिछाने


सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले निस्वार्थ भावनाले बालबालिकाको स्याहार गर्दै आइरहेको एसओएस बालग्रामसंग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।
एसओएस बालग्राम धनगढीको सामाजिक परिक्षणमा उनले भने, ‘विगतमा पनि प्रदेश सरकारले सकेको सहयोग गर्दै आएको छ, आगामी दिनमा पनि सक्दो सहयोग गर्दै एसओएस संग सहकार्य गर्न तयार छौं ।’
उनले बालबालिकालाई निस्वार्थ भावनाले अभिभाकत्व प्रदान गरी काम गर्दै आइरहेको एसओएसलाई सवैले सहयोग गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारले बालबालिकालाई उच्च शिक्षा आर्जन गर्न छात्रवृतिको व्यवस्था गरेको भन्दै उनले एसओएसलाई पनि सो कार्यक्रममा आफ्ना बालबालिकालाई जोड्न सक्ने बताए । त्यसैगरी एमबिबिएस अध्यापन गर्न चाहने विद्यार्थीलाई पनि हरेक बर्ष छात्रवृति प्रदान हुँदै आएको उनले बताए ।
धनगढी उप महानगर पालिकाका शिक्षा युवा तथा खेलकुद महाँशाखा प्रमुख नरेन्द्र बहादुर खातिले सिमित श्रोत साधनका कारण राज्यले धेरै काम गर्न नसकेको वेला एसओएसले बालबालिकाको क्षेत्रमा सरकारको भन्दा राम्रो काम गरेको बताए ।
‘अभिभावक गुमाएका बालबालिकाको अभिभावक राज्य बन्नु पर्नेहो,’ उनले भने, ‘तर सिमित श्रोतसाधनका कारण राज्यले त्यसो गर्न सकिरहेको छैन, एसओएसले जसरी राज्यले पनि काम गर्न सक्दैन ।’
जनप्रतिनिधिको काम भौतिक विकासमा मात्रै गएको भन्दै उनले शिक्षामा पनि राज्यले लगानी गर्नुपर्ने बताए । 
जिल्ला बाल संगठन कैलालीका अध्यक्ष चुडामणी भट्टले एसओएसको पारदर्शिरुपमा काम गर्ने शैली र निस्वार्थ भावनाका कारण सवैको विश्वासिलो संस्था बनेको बताए । उनले राज्यका कारण बालसंगठनलाई वेवास्ता गर्दा मृत अवस्थामा रहेको बताए । ‘बाल संगठनले पनि अभिभावक गुमाएका बालबालिकाको स्याहार गर्ने काम गर्दै आएको थियो,’ उनले भने, ‘तर राज्यको उदासिनताका कारण आज संस्था मृत अवस्थामा रहेको छ, यसलाई पनि जोगाउन सके धेरै अभिभावक गुमाएका बालबालिकालाई संरक्षण गर्न सकिने थियो ।
कार्यक्रममा युएन.डिपिकी प्रदेश प्रमुख वैजन्ति गिरी, एक्सि विद्याश्रमकी प्रिन्सिपल अनिता पन्त, नगर स्तरिय बाल सञजालकी अध्यक्ष लक्ष्मी जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एसओएस बाल ग्राम धनगढीका सह निर्देशक रमेस चन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन टिकेश्वरी बोहराले गरेकिथिइन् । सन २०१५ मा १०औं शाखाका रुपमा एसओएस बालग्राम धनगढीमामा सञ्चालनमा आएको थियो । बालग्राममा १ सय ८ जना बालबालिका राख्ने क्षमता रहेकोमा एक सय १२ जनालाई राखेर अभिभाकत्व प्रदान गरिरहेको सह निर्देशक रमेश चन्द्र भण्डारीले बताए ।