कर्ण शाह
बुधबार, १७ असार २०७७ मा प्रकाशित
धनगढी
सुदुरपश्चिम प्रदेशमा निर्माण गरिएका क्वारेन्टिनहरु रित्तिदै गएका छन् । तर प्रदेशमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भैरहेको छ ।
जेठ २८ गते प्रदेशभरि ६६ हजार १ शय १२ जना क्वारेन्टिनमा रहेका थिए । असार १६ गते क्वारेन्टिनमा रहेकाहरुको संख्या घटेर १२ हजार १ शय ७४ मात्र छ । तर जेठ २८ गते कोरोना संक्रमितको संख्या १ शय ६१ रहेकोमा असार १६ गते संक्रमितको संख्या बढेर २ हजार ४ शय ८३ पुगेको छ ।
सरकारले १४ दिन क्वारेन्टिनमा बसिसकेकाहरुलाई घर पठाउने नियम बनाएपछि क्वारेन्टिनमा बसेकाहरुको संख्या हवात्तै घटेको हो । सरकारको यसै निर्णयका कारण क्वारेन्टिनमा हुदा स्वाब संकलन गरेकाहरुमा घर पुगिसकेपछि कोरोना पुष्टि हुनेहरुको संख्या प्रदेशमा ठ्लो छ । अहिलेसम्म क्वारेन्टिनबाट घर गइसकेपछि कोरोना पुष्टि हुनेका संख्या २ शय २३ छ । क्वारेन्टिनमा कोरोना पुष्टि भएकाहरुलाई पनि होम आइसोलेसनमा बस्न घर पठाइएको छ । यसले सुदुरपश्चिममा कोरोनाको संक्रमण समुदायमा फैलाउने जोखिम बढेको छ ।
‘सरकारले १४ दिन क्वारेन्टिनमा बसिसकेकाहरुलाई होम क्वारेन्टिनमा राख्ने भनेको छ । त्यसैले हामीले पनि १४ दिन पुगेका सबैलाई घर पठाउने गरेका छौं ।’ घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरी भन्छन् – ‘यसले समुदायमा कोरोना फैलिने खतरा त छ । तर स्वास्थ्यकर्मीले पनि नियमित रुपमा होम क्वारेन्टिनको अनुगमन गर्नु हुन्छ ।’
सरकारले क्वारेन्टिनमा १४ दिन बसिसकेपछि घर जाने र १ हप्तामा घरमै क्वारेन्टिनमा बस्न सबै स्थानीय निकायमा निर्देशन गरेको छ ।
घोडाघोडीमा क्वारेन्टिनबाट घर पुगिसकेका ३१ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुराको गन्यापुधुरा नगरपालिकामा एकै दिन कोरोना संक्रमण देखिएका ५६ जना मध्य ३६ जना क्वारेन्टिनबाट घर गइसकेका थिए । त्यसको लगत्तै समुदायमा जोखिम बढेको बिश्लेषण गर्दै गन्यापधुरा नगरपालिकाले एक साताका लागि पालिका सिल गरेको थियो ।
कैलालीको गौरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट आफै घर गएका १८ जनामा घर पुगेको दश दिनपछि कोरोना पुष्टि भएको थियो । त्यसपछि नगरपालिकाले सिल गरेर बजार बन्द गरिराखेको छ, हिडडुलमा कडाइ गरिराखेको छ ।
गौरीगंगाका मेयर भीम देउवा घर पुगिसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि घरकै होम क्वारेन्टिनमा बस्नु पर्ने बताउँछन् । ‘संक्रमण देखिएकाहरुलाई ल्याएर आइसोलेसनमा राख्न सकिने सम्भावना छैन ।’ मेयर देउवा भन्छन् ‘संक्रमण देखिएकाहरुले घरमै क्वारेन्टिनमा बस्ने हो, स्वास्थ्यमा समस्या देखिएमा अस्पताल जाने व्यवस्था गछौं ।’
कन्चनपुरको लालझाडी गाँउपालिकामा असारको पहिलो साता क्वारेटिनबाट घर गएका १९ जना मध्य ११ जनामा कोरोना पुष्टि भएको थियो । क्वारेन्टिनबाट घर गएकाहरुमा कोरोना संक्रमणको पुष्टिले समुदायमा संक्रमणको जोखिम बढाएको छ ।
सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की बिश्व स्वास्थ्य संगठनको मापदण्ड र संघीय सरकारको निर्देशिका अनुसार क्वारेन्टिनमा १४ दिन राखेर घर पठाउने गरिएको बताउँछन् । बिश्व स्वास्थ्य संगठनले १० दिन भनेको छ, तर हामीले १४ दिन क्वारेन्टिनमा राखेका छौं ।’ कार्की भन्छन – ‘सबैलाई अस्पतालमा राख्न सम्भव नभएकोले जोखिम भएकालाई अस्पतालमा राखिएको छ । अरुले घरमै होम आइसोलेसनमा बस्नु पर्छ र आइसोलेसनका नियम पालना गर्नृ पर्छ ।’
संघीय सरकारको स्वास्थ्य महाशाखाका पुर्व प्रमुख डा. लक्ष्मी राज पाठक सरकारले किटको अभाव छैन भन्ने लुकाउन पुरा परिक्षण नै नगरेर घर पठाउने काम गरेको बताउँछन् । ‘आफ्नो कमजोरी ल्ुकाउन बिश्व स्वास्थ्य संगठनको मापदण्ड परिवर्तन गरेर परक्षण बिना नै घर पठाउने काम भैरहेको छ ।’ डा. पाठक भन्छन् – ‘यसले समुदायमा कोरोनाको जोखिम बढाएको छ । समुदयामा स्तरमा फैलिएमा झनै गाह्रो हुन्छ ।’
सरकारले कोरोना र कोरोनाबारे अपनाउनु पर्ने सावधानीका बारेमा व्यापक स्तरमा जनचेतना बढाउनु आवश्यक रहेको डा. पाठक बताउँछन् ।